राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी
काठमाडाैं, माघ १२ : निर्वाचन आयोगले कुनै अवरोध नआए राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आज रातिसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।दिउँसो ३ बजे निर्वाचन...
काठमाडाैं, माघ १२ : निर्वाचन आयोगले कुनै अवरोध नआए राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आज रातिसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।
दिउँसो ३ बजे निर्वाचन सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आज रातिसम्ममा नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो।
राष्ट्रियसभाका १९ सदस्यका लागि सातै प्रदेशमा निर्वाचन जारी छ। चुनावी प्रतिस्पर्धामा ४३ उम्मेदवार छन्।
प्रदेश १ का लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा भइरहेको छ भने मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि भवन जनकपुरमा जारी छ।
वागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह हेटौंडा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान भइरहेको छ।
यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ।
राष्ट्रियसभा निर्वाचनमा २ हजार २५ जना मतदाता छन्। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ।
सत्तारुढ पाँचदलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको छ। जसअनुसार गठबन्धनमा कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टी (जसपा) ले २ र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिएका छन्।
मधेस प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ।











