गैंडा मरेको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन
काठमाडौं, माघ १२ : वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते भरतपुरमा गैंडा मरेको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ।चितवन राष्ट्रिय...
काठमाडौं, माघ १२ : वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते भरतपुरमा गैंडा मरेको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मरेको थियो।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलको सदस्यमा मन्त्रालयका उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजनल वन कार्यालय चितवनका डिभिजनल अधिकृत पदमराज नेपाल छन्।
कार्यदललाई १० दिनभित्र घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्ने, गैँडा मर्ने गरी भएको लापरबाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने भए सोको यकिन रायसहित सुझाव पेस गर्ने कार्यविवरणसमेत दिइएको छ।











