भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान
काठमाडौं, माघ ११ : नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मीलाई आज सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो ।
राजधानीको चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दोसल्ला ओढाएर एवं अर्थसचिव मधु मरासिनीले प्रमाणपत्र सहित निर्देशक रेग्मीलाई सम्मान गरे । भन्सार विभागमा उत्कृष्ट सेवा तथा रसुवा भन्सारमा हुँदा व्यापार सहजीकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले रेग्मीलाई ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो ।
रसुवा भन्सारसंगै विराटनगनर, विरगञ्ज, महेन्द्रनगर भन्सारमा झण्डै १५ वर्ष विताएका रेग्मीले सेवामा रहँदा उत्कृष्ट कार्य गरेको भन्सार विभागका महानिर्देशक नारायण प्रसाद शर्माले बताए । सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताउँदै आयत रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्रका अधिकांश सुचक नकारात्मक भएसंगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थसचिव मरासिनीको ध्यानाकर्षण समेत गराए । जवाफमा अर्थसचिव मरासिनीले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहेपनि खराव अवस्थामा पुगिनसकेको बताए ।











