सरकारलाई सर्वोच्चको आदेश– तत्काल सिटामोलको प्रबन्ध गर्नु
नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउन नसक्दा विरामी मारमा परेको दाबीसहित अधिवक्ता टीकाबहादुर कुँवरलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
काठमाडौं, माघ ११ : सर्वोच्च अदालतले अत्यावश्यक सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन बुधबार अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउन नसक्दा विरामी मारमा परेको दाबीसहित अधिवक्ता टीकाबहादुर कुँवरलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चले आदेशमा कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको अवस्थाको विद्यमानता देखिएको उल्लेख गरिएकाे छ।
‘नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोल लगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू,’ आदेशमा भनिएको छ ।
उक्त प्रकरणमा सर्वोच्चले सरकारसँग कारणसमेत माग गरेको छ।











