Kathmandu Press

स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई आयोगको आग्रह 

ऐनअनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। आयोगले यसअघि दुईपटक सम्म प्रधानमन्त्री देउवासमक्ष निर्वाचन मिति घोषणा गर्न बिलम्व  गर्न नहुने स्मरण गराइसकेको जानकारी दिएको छ।
स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई आयोगको आग्रह 

काठमाडौं, माघ ११ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका हुन्। 

तीनै तहको निर्वाचन एकैपटक गर्ने कि फरकफरक मितिमा गर्ने भन्ने विषयमा सत्तारुढ दलभित्रै दुईमत देखिएको अवस्थामा आयोगले तत्काल निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो। 

आयोगले स्थानीय तहको निर्वाचन पहिलो चरण २०७४ वैशाख ३१ गते, असार १४ मा दोस्रो चरण र असोज २ मा तेस्रो चरणमा सम्पन्न भएका कारण  वैशाख ३१ गतेलाई आधार मानी स्थायनी तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी ०७९ जेठ ५ गते समाप्त हुने उल्लेख गरेको छ। 

ऐनअनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। आयोगले यसअघि दुईपटक सम्म प्रधानमन्त्री देउवासमक्ष निर्वाचन मिति घोषणा गर्न बिलम्व  गर्न नहुने स्मरण गराइसकेको जानकारी दिएको छ।

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको छलफलमा एकै चरणमा तीन तहको निर्वाचन गर्ने, त्यो नभए वैशाख १४ र वैशाख २२ गते दुई चरणमा निर्वाचन सम्पन्न गर्नेगरी मिति घोषणा गर्न प्रस्ताव गरिएको आयोगले जनाएको छ। 

सोअनुसार स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई न्यूनतम १२० दिनको अवधि आवश्यक पर्ने भएकाले चाँडै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिएको छ। 

‘वर्तमान संवैधानिक एमव् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचनको व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ।’ 


 
 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्