भोलि राष्ट्रिय सभा चुनाव, सबै तयारी पूरा
काठमाडौं, माघ ११ : राष्ट्रिय सभा सदस्यको भोलि हुने चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार मतदानका लागि सातवटै प्रदेशमा...
काठमाडौं, माघ ११ : राष्ट्रिय सभा सदस्यको भोलि हुने चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको छ। राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।
आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको आयोगले जनाएको छ।
सातै प्रदेशमा दुई हजार २५ मतदाता छन्। जसमा पाँच सय ३२ प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्।
राष्ट्रिय सभाका १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवार दिएको छ भने एमालेले एक्लै उम्मेदवार उठाएको छ।
कोरोना भाइरसको महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको आयोगले जनाएको छ।











