Kathmandu Press

कोरोना सङक्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

कोरोना सङक्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

चितवन, माघ १० : कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ। कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । 

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए। सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ। 

उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरुसँग भेटघाटमा रोक लगाएका छौ ।’ कारागार कार्यालयले बाहिरबाट ल्याईएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए। उनले भने, ‘पिसिआर परिक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौ ।’ कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए । 

कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिको व्यवस्था गरिएको उहाँले बताउनुभयो । जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ। 

उनले भने, ‘दुई कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ ।’ अहिले क्वारेन्टिनमा १३  कैदीबन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् । जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरुसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए।

प्रकाशित मिति: ११:५८ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्