राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरू
काठमाडौं, माघ १० : राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरू भएको छ।निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको जनाएको छ। माघ...
काठमाडौं, माघ १० : राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरू भएको छ।
निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको जनाएको छ। माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ।
चुनावको ४८ घण्टाअघि मौन अवधि सुरू हुन्छ। यो समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उम्मेदवारका लागि भोट माग्न पाइँदैन।
यससँगै यो अवधिमा उम्मेदवारको कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइँदैन। त्यस्तै, उमेदवार र राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना पनि प्रकाशन वा प्रसारण गर्न नपाइने आयोगले जनाएको छ।
माघ १२ गते बिहानबाट मतदान हुनेछ। त्यसमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता रहेका छन्। मतदाता सूचीमा आफ्नो नाम भए÷नभएको एकिन गर्न आयोगले अनुरोध गरेको छ।
राष्ट्रिय सभाका १९ सीट रिक्त हुन लागेका छन्। त्यसमा सत्तारुढ पाँच दलीय गठबन्धनले मिलिजुली उम्मेदवारी दिएको छ भने नेकपा (एमाले)ले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ।











