बालुवाटार बैठक : 'स्थानीय तह ऐन २०७३' संसोधन गर्न संविधानविद्हरुको सुझाव
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ऐन संसोधन गर्न संविधानविदहरुले सुझाव दिएको बताएका हुन्।
काठमाडौं, माघ ९ : संविधानविद्हरुले नेपालको संविधानसँग बाझिने कानून संसोधन गर्न सत्तारुढ गठबन्धन दललाई सुझाव दिएका छन् । बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुसँग भएको छलफलमा संविधानविद्हरुले स्थानीय तह ऐन २०७३ संसोधन गर्न सुझाएका हुन्।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ऐन संसोधन गर्न संविधानविदहरुले सुझाव दिएको बताएका हुन्।
पत्रकारहरुसँगकै कुराकानीमा संविधानविद् रमण श्रेष्ठले वर्तमान संविधान अनुसार नै ऐन बन्न जरुरी रहेको बताएका छन् । त्यसो हुँदा कानूनी जटिलता उत्पन्न नहुने हुँदा संसोधन गर्न आफूहरुले सुझाव दिएको बताएका हुन्।
स्थानीय तह र प्रदेशको निर्वाचन कुन समयमा गर्ने भन्ने विषयमा व्यापक बहस चलिरहेका कारण सत्तारुढ गठबन्धन दलले आज संविधानविद्हरुसँग राय सुझाव लिएको हो ।
संविधानले निर्दिष्ठ गरेकै समयमा निर्वाचन होस् भन्नका लागि कानूनविद्हरुसँग छलफल गरिएको र त्यसबाट सकारात्मक सुझाव आएको मन्त्री कार्कीले बताएका छन्।











