नेपालमा ८८ प्रतिशत कोरोना संक्रमितमा ओमिक्रोन भेरियन्ट
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितमध्य ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको पुष्टि गरेका हुन्।
काठमाडौं, माघ ९ : नेपालमा कोरोना संक्रमितमध्य ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितमध्य ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको पुष्टि गरेका हुन्।
बाँकीमा भने डेल्टा भेरियन्टको संक्रमण देखिएको उनले बताए । पछिल्लो समय देशभरबाट ३२ संक्रमितको जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको उनले बताए। यो भनेको ८८ प्रतिशत हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट बाँकी १२ प्रतिशतमा भने डेल्टा भेरियन्ट देखिएको डा. अधिकारीले जानकारी दिएका छन्।
‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने। यसबाट नेपालमा ओमिक्रोनले विश्वव्यापी रुपमा डेल्ट भेरियन्टलाई प्रतिस्थापन गरेजस्तै नेपालमा पनि सोही अवस्था देखिएको उनले बताएका छन् ।











