निर्वाचन पर धकेल्ने नियोजित खेल भइरहेको छ, हामीलाई मान्य छैन : ओली
काठमाडौं, माघ ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर धकेल्नका लागि सत्ता गठबन्धन दलका नेताहरुले संविधानको अपव्याख्या गरेको बताएका छन्। आइतबार वक्तव्य...
काठमाडौं, माघ ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर धकेल्नका लागि सत्ता गठबन्धन दलका नेताहरुले संविधानको अपव्याख्या गरेको बताएका छन्।
आइतबार वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन्। उनले कुनैपनि बहानाबाजीमा निर्वाचन पर धकेल्ने खेल आफू र पार्टीलाई सह्य नहुने समेत बताएका छन्।
उनले गठबन्धनले आउँदो वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव ल्याएकाले त्यसबाट राजनीतिक अन्योल बढ्ने टिप्पणी गरे।
गतवर्ष आफूले ताजा जनादेशका लागि प्रस्ताव गर्दा सडकमा प्रदर्शन र विरोध गरिएको स्मरण गराउँदै उहाँले अहिले ‘अर्ली इलेक्सन’को कुरा गर्नेहरुले उक्त विरोधप्रति क्षमायाचना गर्न आग्रह गरे । ‘नेपालको संविधानले स्थानीय तहको पद रिक्तताको परिकल्पना गरेको छैन, त्यसैले स्थानीय तहको निर्वाचन सार्ने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ।
पूर्वप्रधानमन्त्री ओलीले कार्यकाल सकिनु दुई महिना अगावै स्थानीय तहको निर्वाचन गराउनुपर्ने संविधान र कानुनको मर्मलाई पालना नगरेर सत्ता गठबन्धनले निर्वाचन पर धकेल्ले प्रपञ्च गरिरहेको आरोप लगाए। अध्यक्ष ओलीको १५ बुँदे सो वक्तव्यमा मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलन देखा परेको, सरकारले अर्थतन्त्रका वास्तविक आँकडालाई ढाकछोप गरेको, संसद्मा एमालले उठाएको मुद्दाको सुनुवाइमा ध्यान नदिएको आरोप लगाइएको छ।
उनले कोभिड १९ रोकथाममा संलग्न अग्रपङ्गतिका राष्ट्र सेवकलाई जोखिम भत्ता दिन, प्रतिबद्धताबमोजिम सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन, हराएको भनिएको २४ लाख मात्रा खोपको विवरण सार्वजनिक गर्न, ललिता निवास जग्गा अनियमितता प्रकरणका दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।











