मातहतका क्याम्पसलाई त्रिविको निर्देशन : माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्नू
काठमाडौं, माघ ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका सबै क्याम्पसलाई माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।त्रिवि रजिस्ट्रारको कार्यालय सूचना...
काठमाडौं, माघ ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका सबै क्याम्पसलाई माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज (आइतबार) कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
अनलाइन कक्षा सञ्चालनका लागि भोलि (सोमवार १० गते) भित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ।
अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ। यस्तै सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने पनि जनाइएको छ।
भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नसिपलगायत क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने सूचनामा उल्लेख छ। अनलाइन कक्षा व्यवस्थित भए्÷नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाइएको छ।
यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ। अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुनेछ।
चिकित्साशास्त्र अध्ययन संस्थानकाअन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ।














