तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना
तनहुँ, माघ ९ : तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएको हो।...
तनहुँ, माघ ९ : तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएको हो। भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ।
तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिए। स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ। यस्तै सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ।
नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चारमध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएकाहरुलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन्।
शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। शुक्रबारदेखि अर्को निर्णय नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले जानकारी दिए।
शुक्लागण्डकी–४ दुलेगौडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी सङ्क्रमित भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए।
आँबुखैरेनी गाउँपालिकाका १४ कर्मचारी र स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ। कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लामा ४२ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ। हाल जिल्लामा तीन सय ८९ सक्रिय सङ्क्रमित छन्।
गत वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २५१ निको भए । वैशाखयता मात्रै एक ३० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ।











