आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ ९ : आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं, माघ ९ : आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको छ। यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
त्यस्तै, आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा साथै प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर मौसम बदली रही अधिकांश प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको हुने महाशाखाको अनुमान छ।
सोमबार पनि देशका अधिकांश भूभागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ।











