Kathmandu Press

बझाङमा आइसियु सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ, माघ ८ : जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित...
बझाङमा आइसियु सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ, माघ ८ : जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयु शय्या ल्याइएको हो।

गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो भरियन्टको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त शय्या सञ्चालनमा ल्याउन नसकिएको हो।

कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झण्डै एक हजार ६०० भन्दा बढी सङ्क्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए।

श्वासप्रश्वासमा समस्या भएका जटिल सङ्क्रमितलाई डडेल्धुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो। जिल्लामा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए।

यता जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहित आठ आइसीयू शय्या जडानकार्य सम्पन्न भएको छ। पुसको पहिलो सातामात्रै उक्त जडान कार्य गरिएको डा. खड्काले बताए। जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुई जनालाई भेन्टिलेटरसहितको आइसीयू शय्या सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसीयू शय्या सञ्चालनका लागि डा. खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पतालका प्रमुख अनवेश कोइरालाले बताए। आगामी दिनमा जटिल तथा आइसीयूमा राख्नुपर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामै उपचार गर्न सकिने डा. कोइरालाले बताए।

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्