Kathmandu Press

सुनकोसी दोभानमा लुगा छाडेर पुरुष र महिला बेपत्ता

काभ्रेपलाञ्चोक, माघ ८ : जिल्लाको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगाजुत्ता छाडेर एक महिला र एक पुरुष बेपत्ता...
सुनकोसी दोभानमा लुगा छाडेर पुरुष र महिला बेपत्ता

काभ्रेपलाञ्चोक, माघ ८ : जिल्लाको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगाजुत्ता छाडेर एक महिला र एक पुरुष बेपत्ता भएका छन्।

एक दिनको फरकमा एक साताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी वस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुंगामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नगरपालिका–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङको लेडिज कोट, कालो र खरानी रङका दुई जोर जुत्ता, कालो लेडिज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन्।

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए। शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन्। 
    
परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए। फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छ। ‘उनीहरु शंकास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौं,’ उनले भने।

बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ। 

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्