कोरोनाको जोखिममा स्वस्थ्यकर्मी, गण्डकीमा २६८ स्वास्थ्यकर्मी संक्रमति
गण्डकी प्रदेशका कास्कीमा १३८, तनहुँमा ४२, लमजुङमा २०, नवलपुरमा १७, स्याङ्जामा १२, बागलुङमा ११, पर्वतमा १०, म्याग्दीमा ९, गोरखामा ६ र मुस्ताङमा ३ स्वास्थ्यकर्मीमा संक्रमित छन्।
कास्की, माघ ८ : पछिल्लो समय देशभर कोरोना संक्रमण फैलिएसँगै त्यसको प्रत्यक्ष मारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी परेका छन्। पछिल्लो समयमा देशभर नै स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढिरहेको छ।
ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन सातामा २ सय ६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराकाअनुसार गत पुस १७ यता गण्डकीका मनाङबाहेकका जिल्लामा सो संख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।
प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
यसैगरी तनहुँमा ४२, लमजुङमा २०, नवलपुरमा १७, स्याङ्जामा १२, बागलुङमा ११, पर्वतमा १०, म्याग्दीमा ९, गोरखामा ६ र मुस्ताङमा ३ स्वास्थ्यकर्मीमा संक्रमित छन्।
निर्देशनालयले सङ्क्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइएको छ।











