‘पुनर्निर्माणका बाँकी काम समयमै सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ’

काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी सबै काम समयमै सम्पन्न गर्ने व्यवस्था मिलाइएको बताएका छन्।
देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विपद् प्रभावित जनताको आवासको पुनर्निर्माण तथा राहतका कामलाई उच्च प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे।
उनले तराई मधेसमा देखिने शीतलहर र उच्च हिमाली क्षेत्रमा हुने हिमपातको कारणबाट कसैको पनि अकाल मृत्यु हुन नपाउने व्यवस्थाका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए।
‘मुलुकको विकासमा निजी क्षेत्रको अहं भूमिका छ। निजी क्षेत्रलाई प्रोत्साहित गर्दै उद्यम व्यवसाय गर्ने वातावरणलाई थप सहज बनाइनेछ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यको सबै तह र संरचनामा कडाइका साथ कार्यान्वयन गर्ने गरी सक्षम बनाइनेछ।’
उनले आर्थिक उदारीकरण र निजीकरणबाट प्रारम्भ भएको पहिलो चरणको आर्थिक तथा शासकीय सुधारमार्फत नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रकृया अगाडि बढेको बताए।
‘छोटो समयमा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै विकसित राष्ट्रको स्तरमा पुग्ने हाम्रो लक्ष्य हो। यो लक्ष्य प्राप्तिको मार्गमा देखापर्ने समस्या र चुनौतीको समाधान गर्न र प्राप्त अवसरहरूको उपयोग गर्न दोस्रो चरणको आर्थिक तथा शासकीय सुधार शुरु गर्नुपर्नेछ,’ उनले भने, ‘सुधारको योजना बनाउँदा संविधानको कार्यान्वयन, आर्थिक समृद्धि, विकास र सुशासनलाई केन्द्रबिन्दुमा राखिनेछ।’











