प्रधानमन्त्रीले भने- महँगी तथा भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिइएको छ
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले महँगी तथा भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिएको बताएका छन्।देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने...
काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले महँगी तथा भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिएको बताएका छन्।
देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूले सरकारको नेतृत्व गरेयता भएका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै उनले भने, ‘महँगी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यहरूको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिने कार्यहरू भएका छन्।’
आफूले सरकारको नेतृत्व गरेपछि आर्थिक-सामाजिक रूपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिइएको उनले स्पष्ट पारे।
‘उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्ने, स्वदेशी कच्चा पदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी बढाउने, आपूर्ति व्यवस्थामा सुधार गर्ने कार्यहरू भएका छन्,’ उनले भने।
आफू सरकारको नेतृत्वमा आएपछि विगत दुई वर्षदेखि कोभिड(१९ का कारण संकटग्रस्त उद्योग र सेवा व्यवसायको उत्थान गर्न र श्रमजीवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था कार्यान्वयनमा ल्याइएको उनले बताए।
‘बाढी, पहिरो, आगलागी तथा बेमौसमी वर्षाका कारण विपद्मा परेका जनतालाई उद्धार गरी राहत उपलब्ध गराउने, सुरक्षित बसोबास र पुनःस्थापना गराउने तथा नष्ट भएको धानबालीको क्षतिपूर्तिका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अघि बढाइएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाले वर्तमान सरकारले रूपान्तरणकारी र विकासका कार्यक्रमको कार्यान्वयनलाई गति दिएको पनि बताए।











