Kathmandu Press

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रमको विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण

काठमाडौं, माघ ६ :  सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गरेको छ...
सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रमको विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण

काठमाडौं, माघ ६ :  सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गरेको छ । आज रााष्ट्रिय सभा गृहमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

भवन निर्माणका लागि गएको असोज २० गते त्रिपक्षीय सम्झौता भएको थियो । यसका लागि काठमाडौँ महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको असार २१ गते सम्पन्न नगरसभाले निर्णय गरेको थियो ।  नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान दिने, यसबाट नागार्जुन नगरपालिकाले खरिद ऐनको प्रक्रिया अवलम्बन गरेर भवन निर्माण गर्ने र मानव सेवा आश्रमले सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको थियो । यो सम्झौतापछि महानगरको सहरी योजना आयोगले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो ।  

प्रतिवेदनअनुसार ९८४ बर्गमिटर प्लिन्थ एरिया भएको भवन १ हजार ९५४ बर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवनको लागत करीव ११ करोड रुपैयाँको हुनेछ । सहरी योजना आयोगका सदस्य सजीव शाक्यका अनुसार भवनमा १ सय जना अट्ने एउटा, ४० जना अट्ने एउटा गरी २ वटा सभा कक्ष र २० जना अट्ने बैठक कक्ष हुनेछन् । १८० जना सहयोगापेक्षी राख्न सकिने भवनमा २६ जना स्वयमसेवक बस्न सक्नेछन् । भवनमा १० वटा कार र ४० वटा मोटरसाइकल अट्ने पार्किङ्ग सुविधा हुनेछ । प्राइभेट, सेमी प्राइभेट र पब्लिक गरी भवनलाई ३ भागमा बाँडेर प्रयोग हुनेछ । 

शाक्यकाअनुसार सुरक्षा र गोपनीयताजस्ता विषयलाई ध्यानमा राखेर यस्तो डिजाइन गरिएको हो । सुत्ने कोठा र स्वास्थ्य उपचार कक्ष प्राइभेट अर्थात सबैको पहुँच नहुने गरी बनाइनेछ । नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवर्धन गर्ने गरी संरचना निर्माण गरिनेछ । 

विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनका लागि भवनको प्रयोग हुनेछ । यो उद्देश्यअनुसार भवनको व्यवस्थापन तथा प्रयोग हुन नसकेमा वा भवनको दुरुपयोग भएमा भवन फिर्ता हुनेछ । सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका मेयरको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समिति हुनेछ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका मेयर, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १÷१ जना रहनुहुनेछ । निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोके बमोजिम काम गर्नेछ । 

डीपीआर हस्तान्तरण गरिसकेपछि बोल्दै मेयर शाक्यले, काठमाडौँमा जन्मिएर देशको स्वाधीनताका लागि प्राण आहुती गर्ने सहिद धर्मभक्त माथेकाका नाममा मानव सेवा आश्रम र प्रजातन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने गणेशमानका नाममा पार्क निर्माण गर्न नागार्जुन नगरसँग हस्ताक्षर गर्न पाएको खुशी  लागेको बताए । ‘सडकमा वेसहारा मात्र छैनन् । परिवारमा बस्न चाहिने नियन नमानेर स्वतन्त्र जीवन विताउन चाहने पनि छन् । हामी परिवार भएकालाई पारिवारिक पुनर्मिलन गराउने र विकल्प नभएकालाई निःशुल्क बास र खाना, स्वास्थ्य तथा आवश्यकताका आधारमा शिक्षा उपलब्ध गराउँछौँ ।’ मेयर शाक्यको भनाइ थियो । 

त्यस क्रममा नागार्जुन नगरका मेयर बस्नेतले, सहिदको बलिदानीबाट अहिलेको व्यवस्था प्राप्त भएकोले काठमाडौँ महानगरको सहयोगमा सहिदकै नाममा सामाजिक काम थालिएको बताउनुभयो । त्यस्तै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, दुई नगरको सहकार्यमा अगाडि बढेको योजना अन्तरसरकार साझेदारी कार्यक्रमको नमूना भएको उल्लेख गर्नुभयो । 

महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने सहमति बमोजिम काम भइरहेको छ । 

त्यसपछि महानगरका सडक पेटी तथा खुल्ला स्थानमा भेटिएका सवै उमेर समूहका, शारीरिक र मानसिक अवस्था जस्तोसुकै भएपनि, सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई उद्धार गर्ने, उपचार तथा पालनपोषण गर्ने, आधारभूत आवश्यकता परिपूर्ति गरिदिने, शिक्षा दीक्षा दिने काम आश्रमले गरिरहेको छ । यसबापत् महानगरले वडा नं. २६ सामाखुशीमा आश्रम सञ्चालन भएको एउटा र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ नीलो पुलमा सञ्चालित एउटा गरी २ वटा घरको मासिक बहाल तिर्दै आएको छ । यसै गरी उद्धार कार्यमा प्रयोग गर्न एउटा सवारी खरिद गरिदिएको छ ।
 

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्