Kathmandu Press

भरतपुर महानगरले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा चलाउने

चितवन, माघ ६ : युवा वर्गलाई स्वरोजगारसँगै सरकारी सेवामा प्रतिस्पर्धी बनाउन भरतपुर महानगरपालिकाले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। प्राविधिक...
भरतपुर महानगरले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा चलाउने

चितवन, माघ ६ : युवा वर्गलाई स्वरोजगारसँगै सरकारी सेवामा प्रतिस्पर्धी बनाउन भरतपुर महानगरपालिकाले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। 

प्राविधिक तालिम लिएर तत्काल रोजगार गर्न चाहने र सरकारी सेवामा प्रवेश गर्न चाहने दुवै वर्गका युवालाई निःशुल्क रुपमा कक्षा र तालिम दिन लागिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरभित्रका युवाहरुलाई आफूले इच्छा व्यक्त गरे अनुसार तयारी कक्षा र तालिम दिन लागिएको जानकारी दिइन्। 

महानगरपालिकाले १८ वर्ष उमेरदेखि ४० वर्ष सम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम र लोक सेवा र शिक्षक सेवाको तयारीका लागिसमेत सहयोग गर्न लागिएको उनको भनाइ छ। महानगरले गत पुस २७ गते १५ दिनको सूचना जारी गरी इच्छा अनुसारको आवेदन आह्वान गरेको छ। 

उनले भने, ‘आर्थिक अभावका कारण युवा तालिम र तयारी कक्षाबाट वञ्चित हुनुपर्दैन।’ आर्थिक अभावका कारण प्रतिश्पर्धामा कोही पनि पछि नपरुन भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको दाहालले बताइन्। उनका अनुसार आधारभूत सीपमूलक तालिम लिएपछि सोही अनुसारको काम गर्न महानगरले सहयोग गर्नेछ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आवेदन प्राप्त भएपछि ईच्छा अनुसारको तालिम र तयारी कक्षा सुरु गरिने बताए। महानगरले तत्कालका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । रकम अपुग भएमा थप गरी कार्यक्रम प्रभावकारी बनाइने सुवेदीको भनाइ छ।

तालिम र कक्षाका लागि विषय विज्ञ झिकाइनेछ। नतिजा प्राप्त हुने गरी काम गरिने उनले बताए। निवेदन संकलन हुँदै गर्दा महानगरपालिकाले व्यावसायिक सीपमूलक तालिमको लागि साझेदार संस्थासँग छलफल अघि बढाएको छ।

उनले भने, ‘यहाँका युवाको चाहनाअनुसार तयारी कक्षा वा सीपमूलक तालिम दिन्छौं।’ पालिकामा लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा गर्न लागिएको सम्भवत यो पहिलो हो। 

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्