Kathmandu Press

शिक्षक अस्पताल चितवनमा बनाइनेछ : मन्त्री पौडेल

चितवन, माघ ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्। ‘शिक्षक...
शिक्षक अस्पताल चितवनमा बनाइनेछ : मन्त्री पौडेल

चितवन, माघ ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्। 

‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिनेछ। हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैंठकमा लैजान्छौं,’ उनले भने। जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्नेछ। कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ।

पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ। सुरुमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइनेछ।  क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए। अस्पताल परिसरमा कुरुवा घर समेत बनाइनेछ।

महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताइन्।  महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो। 

महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो।

सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी) को स्थलगत नापजाँच प्रतिवेदन, वडा १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेस गरिसकेको छ। देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो । महानगर प्रमुख दाहालले भनिन्, ‘यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्न सहयोग पुग्नेछ।’

शिक्षक अस्पताल पछि शिक्षण अस्पताल हुने उनको भनाइ छ। अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ। भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौं बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन्। 

उनले भनिन्, ‘सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ।’ शिक्षा मन्त्रालयले डा. विमल शर्मा चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए। 

उनले भने, ‘अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ।’  समितिले जग्गा हेर्नु पूर्व पेशागतसँग संगठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए। अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए। दवाडीका अनुसार चार लाखभन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । 

नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूव शिक्षक ३० हजार रहेका छन्। यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए।

नमुना अस्पताल बन्ने भन्दै उनले टाढाबाट आएका बिरामी र आफन्त बस्न कुरुवाघरसमेत हुने बताए। चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्छन्। केन्द्रीयस्तरको भरतपुर अस्पताल र मेडीकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्छन्। भरतपुरलाई मेडिकल सिटीका रूपमा लिने गरिन्छ।

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्