Kathmandu Press

सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

पोखरा, माघ ६ : स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका...
सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

पोखरा, माघ ६ : स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ।

गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो। यो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनबीच सम्झौता भएको छ।

नयाँ भेरियन्टसहितको तेस्रो लहरले अधिकतम मानिसका साथै स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक÷एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलब्ध गराइएको नेलम्बोका अध्यक्ष देवकोटाले बताए। उनका अनुसार ६ महिनाका लागि अस्पताललाई उपलब्ध गराइने जनशक्ति भर्ना गरिएको छ।

अध्यक्ष देवकोटाले आगामी दिनमा पनि नेलम्बोले कोभिड–१९ आइसोलेसन वार्ड स्थापना गरेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षाका सामग्री आवश्यकता र संस्थाको क्षमताअनुसार प्रदान गरिने जानकारी दिए।

यसैगरी अस्पताललाई संस्थाले डिस्पोजिवल मास्क ५०० थान, केएन ९५ मास्क ५०० थान, स्यानिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० थान, डिस्पोजिवल पञ्जा १० प्याकेट, पिपिई १० थान,  स्प्रे बोतल १० थान, ब्याट्री १० जोर, कोभिड–१९ सचेतना ब्यानर दुई थान सहयोगसमेत गरिएको नेलम्बोका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिए।

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्