जर्मनीलाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह
काठमाडौं, माघ ५ : नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रर्वद्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसंग आग्रह गरेको छ...
काठमाडौं, माघ ५ : नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रर्वद्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसंग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदुत डा थोमस प्रिन्जसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्ताका क्रममा अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत, पर्यटन, निर्यातमुलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् ।
जलाशाययुक्त जलविद्युत आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन अध्यक्ष मल्लले राजदुत प्रिन्जसंग आग्रह गरे । यस्तै पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाईरहेकाले काठमामाडौं फ्रयाङफर्ट सिधा उडान खुलाउनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । ‘काठमाडौंबाट फ्रयाङर्फटबीचको हवाई उडान जम्मा आठ घण्टा ४५ मिनेट मात्रै छ जर्मनीले थोरै सहजीकरण गरिदियो भने युरोपबाट धेरै पर्यटक नेपालले भित्र्याउन सक्छ ।
कोरोना संक्रमणअघि वार्षिक ३६ हजार हाराहारीमा जर्मनीबाट पर्यटक नेपाल आएका छन् सिधा हवाई उडान हुन सक्यो भने युरोपका अन्य देशबाट पनि पर्यटकलाई आर्कषित गर्न सकिन्छ,’उनले भने । यस्तै कफि, पस्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानहरुको जर्मनी लगायतका युरोपेली देशमा माग रहेकाले व्यापारसहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले राजदुत समक्ष आग्रह गरेका थिए । ख्यातीप्राप्त कम्पनी अडिडास स्पोर्टस फेसन जस्ता अन्तराष्ट्रियकम्पनीहरुको उत्पादन शाखा नेपालमा खोलेर कम लागतमा विश्वव्यापी बजार विस्तार गर्न सकिनेतर्फ पनि अध्यक्ष मल्लले राजदुत प्रिन्सको ध्यानकर्षण गराएका थिए ।
उच्चस्तरीय जनशक्तिद्धारा नेपालमा कम लागतमै अन्तराष्ट्रि उत्पादन गर्न सकिने भएकाले लगानीको सम्भावना खोज्न अध्यक्ष मल्लले आग्रह गरेका थिए । चेम्बर पदाधिकारीसंगको भेटका क्रममा राजदुत प्रिन्जले पनि कोभिड लगत्तै विश्वमै पर्यटन गतिविधी वढ्ने भएकाले त्यसको अवसर खोज्न तर्फ नेपाल लाग्नुपर्ने बताएका थिए ।
काठमाडौं फ्रयाङफर्ट सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पुरा गर्नुपर्ने बताएका थिए । नेपाल सरकार र चेम्बरसंग मिलेर काम गर्न आफ्नो देश सकारात्मक रहेको भन्दै यसका लागि संरचनागत सुधार हुनुपर्नेमा जोड दिएका थिए ।











