मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्छ : मन्त्री खतिवडा
काठमाडौं, माघ ४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्...
काठमाडौं, माघ ४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका स्वास्थ्यमन्त्री खतिवडाले आज मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा सो कुरा बताएका हुन् ।
कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गएपनि मधेस प्रदेशका जिल्लामा लक्ष्यअनुसार खोप कार्यक्रम अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री खतिवडाले सम्भावित कोरोना जोखिमलाई कम गर्न खोप कार्यक्रमलाई तीव्र पार्नुपर्ने बताए । ‘‘पुस मसान्तभित्र ६६ प्रतिशत जनतालाई खोप दिने सरकारको लक्ष्य थियो”, उनले भने, ‘‘तर मधेस प्रदेशको जिल्लामा खोप कार्यले तीव्रता लिन सकेको छैन । त्यसैले स्थानीय सरकारसँग समन्वय गरी खोप कार्यलाई तीव्रता दिनु जरुरी छ ।”
खोपसँगै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको परिपालना गराउन सबैले आआफ्नो तहबाट सहयोग गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ थियो । मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा रणनीति बनाइ अघि बढिरहेको बताए ।
कोभिड–१९ बाट जोगिने बिधि बारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी प्रदेशभरीका अस्पतालमा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अस्पतालमा राखिएको उनले जानकारी दिए ।











