Kathmandu Press

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति : उपसभापति गुरुङ

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति : उपसभापति गुरुङ

चितवन, माघ ४ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। आज (मंगलबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताए। 

उनले भने, ‘सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ। निर्णय हुन मात्रै बाँकी हो।’ निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उनको भनाइ छ। स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उनले बताए। उनले भने, ‘वैचारिक कुरा गर्ने हो भने बहुलवादमा आधारित संसदीय पद्धतिमा आआफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो।’ 

उनले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्ने बताए। पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ।

न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गरे। ‘निर्वाचनमा समूह हो अब होइन,’ उनले भने। निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रीय सदस्य रहेको उनको भनाइ थियो।   

फरक प्रसंगमा बोल्दै उनले अहिलेको सरकारले जनताको चाहनाअनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताए। खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उनले आग्रह गरे।

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्