कोरोना नियन्त्रण गर्न ललितपुर प्रशासनले जारी गर्यो २७ बुँदे आदेश (पूर्णपाठसहित)
काठमाडौं, माघ ४ : कोरोना संक्रमणदर बढ्दै गएपछि यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी २७ बुँदे...
काठमाडौं, माघ ४ : कोरोना संक्रमणदर बढ्दै गएपछि यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी २७ बुँदे आदेश जारी गरेको छ। उक्त आदेशअनुसार माघ मसान्तसम्म सभा, भेलाजस्ता धेरै मानिसको भिड हुने क्रियाकलाप गर्न पाइनेछैन।
यस्तै माघ १५ गतेसम्मका लागि पठनपाठनका संस्थाहरूमा भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाउने, माघ मसान्तसम्मका लागि मठमन्दिर तथा धार्मिक स्थलमा नित्य पूजा मात्र गर्ने, ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य, सपिङ मललगायत पसलहरूमा एकपटकमा २५ जनाभन्दा बढी मानिस जम्मा हुन नहुने, जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने र गर्न लगाउनेलगायत आदेशहरू ललितपुर प्रशासनले जारी गरेको हो।
सार्वजनिक यातायातको हकमा सबै यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक र सहचालकले फेस सिल्डको अनिवार्य प्रयोग गर्ने, सवारी साधन दैनिक निसंक्रमित (स्यानिटाइज) गर्नुपर्ने आदेश पनि जारी गरिएको छ।
यस्तै, होटल तथा रेस्टुरेन्टहरू जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। माघ ७ गतेदेखि खोप कार्डको वा सोको फोटो देखाएर मात्र सेवाग्राहीलाई होटलमा प्रवेश गर्न अनुमति दिनुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।
आदेशअनुसार होटलमा बास बस्नेहरूको भने एन्टिजेन परीक्षण गरी प्रत्येक ७२ घण्टामा सोको विवरण डिसिसिएमसीलाई उपलब्ध गराउनुपर्नेछ। आदेश पालना नगर्ने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने चेतावनी ललितपुर प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ।
















