२५ जनाभन्दा धेरै उपस्थिति रहने गरी कार्यक्रम नगर्न एमालेको निर्देशन
काठमाडौं, माघ ३ : नेकपा (एमाले) ले कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसङ्गठनका कार्यक्रमलाई स्थगित गर्न...
काठमाडौं, माघ ३ : नेकपा (एमाले) ले कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसङ्गठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिएका हुन् ।
यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ ।
यता, स्वास्थ्य जोखिमका कारण पोखरामा यही माघ २२–२३ गते हुने प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ ।
गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिएका हुन् ।











