विधानविपरीत समिति गठन गरिएकामा आपत्ति
काठमाडौं, माघ ३ : नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको...
काठमाडौं, माघ ३ : नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ।
समितिका अध्यक्षहरूले आज (सोमबार) सामूहिक रुपमा एक विज्ञप्ति जारी गरी महासंघको तिलौराकोटमा सम्पन्न बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधानविपरीत समिति गठन गर्न खोजिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्।
राज्यका विभिन्न निकायलाई संघीयता कार्यान्वयन गराउन बारम्बार प्रश्न उठाउने पत्रकारको साझा संस्था महासंघले नै प्रदेश समितिलाई अङ्कुश लगाउने गरी समिति गठन गरे आफूहरूलाई मान्य नहुने महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले बताए। विधानबाहिर गइ गरिने कुनैपनि कार्यमा आफूहरुको साथ र सहयोग नरहने उनको भनाइ थियो।
यसरी विज्ञप्ति जारी गर्नेमा महासङ्घको प्रदेश १ का लीलाबल्लभ घिमिरे, प्रदेश २ का राजेश कर्ण, वाग्मती प्रदेशका शिव देवकोटा, गण्डकी प्रदेशका नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा, प्रतिष्ठान प्रदेशका अधिकारी र एसोसिएट प्रदेशका बैकुण्ठ पराजुली छन्।











