प्रदेश २ को नाम टुंगो लगाउन गोप्य मतदान सुरु
काठमाडौं, माघ ३ : प्रदेश नम्बर २ को नामाकरण गर्न गोप्य मतदान सुरु भएको छ। प्रदेश सभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेशको नामाकरण...
काठमाडौं, माघ ३ : प्रदेश नम्बर २ को नामाकरण गर्न गोप्य मतदान सुरु भएको छ। प्रदेश सभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेशको नामाकरण गर्नेबारेमा मतदान गराएका हुन्।
प्रदेशको स्थायी राजधानी भने पहिलो बैठकले टुंगो लगाइसकेको छ। पहिलो चरणको मतदानमा दुईतिहाई बढी सदस्यले समर्थनमा मतदान गरेपछि जनकपुर स्थायी राजधानी घोषणा भइसकेको छ।
प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरु प्रस्ताव गरेको छ।
जसमा मधेस नाममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी सहमत छन् । उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो ।
नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्नेमा छन् ।नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भनेको छ । तर, बारा र पर्साका सांसदहरुले मध्य मधेस प्रदेश नाम राख्ने प्रस्ताव गरेका छन् । बारा र पर्साका मात्रै २५ जना सांसद छन्।
प्रदेश २ मा १०४ जना सांसद छन् । कुनैपनि नाममा निर्णय हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ । १०४ को दुई तिहाइ बहुमत ७० हुन आउँछ । दुई तिहाइ मत नआए कुनै पनि नामबारे निर्णय हुने छैन ।











