निसासिएर एकै परिवारका चार जनाको मृत्यु

सुर्खेत, माघ २ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोटका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय छोरा चीरञ्जीवी तथा कल्पाकै दाजुका पाँच वर्षीय छोरा सम्राट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
शनिबार बेलुका सूचना पाउने वित्तिकै प्रहरी टोली पुगेको थियो। चारै जना मृत अवस्थामा भेटिएको घर्तीले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन। (रासस)
प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











