Kathmandu Press

कोभिड १९ रोकथाम : सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश

कोभिड १९ रोकथाम : सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश

सुर्खेत, माघ १ : कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरेका हुन।

प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक, सामाजिक प्रकृतिका कार्यक्रम नगर्ने/नगराउने, २५ जना नबढ्ने उपस्थितिमा गतिविधि सञ्चालन गर्दा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, अत्यावश्यक कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनको अनुमति लिने उल्लेख छ। साथै औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानूनबमोजिम कारबाही गरिने उल्लेख छ।

सुर्खेत जिल्लास्थित शिक्षण संस्था माघ १५ गतेसम्म बन्द गर्ने, माघ ७ गतेसम्म सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिनेछ। कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित एवं आकस्मिक अनुगमन गर्ने र अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने जनाइएको छ।

प्रकाशित मिति: २०:२६ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्