गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट, कोभिड भ्याक्सिन सहयोग गर्न आग्रह

काठमाडौं, पुस ३० : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए ।
नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका थिए । मन्त्री खाँणले पढाइका अलावा नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने गरेकामा त्यो समय बढाउन पनि आग्रह पनि गरे ।
राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिएको बुझिएको छ ।











