Kathmandu Press

नबिलले नेपाल बङ्गलादेश बैंकलाई गाभ्दै

काठमाडाैं, पुस २९ : अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ। आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सहमतिअनुसार नेपाल बङ्गलादेश...
नबिलले नेपाल बङ्गलादेश बैंकलाई गाभ्दै

काठमाडाैं, पुस २९ : अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ। आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ। नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन। बङ्गलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन। सो बैंकको शेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ।

समझदारीसम्बन्धी जानकारी शुक्रबार नेपाल राष्ट्र बैंकलाई गराउने तयारी गरिएको छ। बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बङ्गलादेश बैंक प्राप्ति गर्न लागेको हो। यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेको थियो।

वित्तीय स्थिरताका लागि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कम गर्ने नीति केन्द्रीय बैंकले लगातार अगाडि बढाइरहेको छ। सोही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ। पूर्वगभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा ग्लोबल र जनता बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार गरेको थियो।

प्राप्त जानकारीअनुसार दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड बराबर पुग्नेछ। हाल नबिल बैंकको चुक्ता पुँजी रु १३ अर्ब ८४ करोड रहेको छ भने नेपाल बङ्गलादेश बैंकको रु नौ अर्ब चार करोड छ।

गत आवको नाफाबाट नबिलले ३३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस आधारमा लाभांशपछि बैंकको चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड पुग्नेछ। प्राप्तिपछि नबिल बैंकको निक्षेप रु तीन खर्ब नौ अर्ब बराबर पुग्नेछ भने कर्जा रु दुई खर्ब ८८ अर्ब पुग्नेछ। हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटिमएम १८५ वटा छन्।

यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटिएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ। कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ। यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ।

प्रकाशित मिति: २०:४९ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्