व्यास नपाद्वारा निःशुल्क कोरोना परीक्षण
दमौली, पुस २८ : व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पीसीआर गर्ने भएको छ। व्यास नगरपालिका–१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडि पीसीआरका लागि...दमौली, पुस २८ : व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पीसीआर गर्ने भएको छ। व्यास नगरपालिका–१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडि पीसीआरका लागि शुल्क लिने गरिएकामा माघ १ गतेदेखि निःशुल्क गर्ने निर्णय भएको हो।
कोभिड–१९ को बढ्दो प्रकोपलाई मध्यनजर गरी महामारीको अवधिर कुनै पनि शुल्क नलाग्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। नगरपालिकाले यस अगाडि पीसीआर परीक्षणका लागि एक हजार रूपैयाँ शुल्क लिने गरेको थियो। 'कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क सेवा दिने निर्णय भएको छ,' उनले भने।
पच्चीय श्ययाको अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ हाल पाँच श्यया व्यवस्थापन गरिएको छ। सोही अस्पतालमा नगरपालिकाले पीसीआर प्रयोगशाला सञ्चालन गरेको थियो। कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ/नौ दिन लागेपछि नगरपालिकाले प्रयोगशाला सञ्चालन गरेको थियो। त्यसैलाई मध्यनजर गर्दै सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा प्रयोगशाला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।।
पीसीआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले ५० लाख रूपैयाँ, गण्डकी प्रदेश सरकारले र २५ लाख रूपैयाँ, व्यासका जनप्रतिनिधिले १३ लाख रूपैयाँ, कर्मचारीले आठ लाख रूपैयाँ, हेफर इन्टरनेशनले चार लाख रूपैयाँ, तनहुँ समाज हङ्कङ र तनहुँ समाज अष्ट्रेलियाले दुई/दुई लाख रूपैयाँ सहयोग गरिसकेका छन्। पीसीआर प्रयोगशाला स्थापनार्थ रु एक करोड सात लाख ७६ हजार प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि एक करोड ३२ लाख १५ हजार २०० ६८ रूपैयाँ खर्च भएको छ।
प्रयोगशाला सञ्चालनका लागि २५ लाख ८७ हजार सात सय रूपैयाँमा पीसीआर मेसिन, १० लाख २० हजार ३९० रूपैयाँमा जेनेरेटर, ५७ लाख सात हजार १७८ रूपैयाँमा अन्य उपकरण, पाँच लाख रूपैयाँमा ल्यापटप/कम्प्युटर र पाँच लाख रूपैयाँमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा २९ लाख रूपैयाँ खर्च भएको छ। प्रयोगशालामा दुई जना विएमएलटी र तीन जना सिएमएलटीका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ। पीसीआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ। त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ।