सुदूरपश्चिम प्रदेशमा बढ्यो सङ्क्रमण, १९४ मा पुष्टि
सुदूरपश्चिम, पुस २७ : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ। आज थप १९४ मा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७१३ जनाको नमूना परीक्षण गर्दा १९४ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआरमार्फत ३९ र एन्टिजेनमार्फत १५५ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ३१, महाकाली अस्पतालमा छ, जिल्ला अस्पताल बैतडीमा दुई र एन्टिजेनमार्फत कैलालीका ७७, कञ्चनपुरका ७४, दार्चुलाका दुई, बैतडी र डोटीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
गएको २४ घण्टामा प्रदेशभर पाँच निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि सोमबार यस प्रदेशमा १५९ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए भने आइतबार ६२ जनामा पुष्टि भएको थियो। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ।