Kathmandu Press

आजदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई खोप

काठमाडौं, पुस २७ : आजदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी आजदेखि...
आजदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई खोप

काठमाडौं, पुस २७ : आजदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी आजदेखि उपत्यकाका सबै स्थानीय तहमा खोप लगाउने व्यवस्था गरिएको जनाएको छ। भक्तपुरका केही स्थानीय तहमा भने तीन दिनअघिदेखि नै खोप लगाउन थालिएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदै छ। यसका लागि स्थानीय तहले कतिपय विद्यालयमै खोप केन्द्रको व्यवस्था गरेका छन्।

उपत्यकामा तीन लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ। यसका लागि सबै तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैलाई खोप लगाउन सरकारले आग्रह गरेको छ।

यसअघि सरकारले ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप लगाएको थियो। काठमाडौं उपत्यकासहित २० जिल्लामा फाइजरसँगै मोडर्ना खोप लगाउन थालिएको हो।

यसअघि बालबालिकालाई फाइजर खोप लगाइएका चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि छिट्टै खोप लगाइने मन्त्रालयले जनाएको छ।

कोरोनाको संक्रमण बढ्न थालेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गरिएको छ। त्यसअघि बालबालिकालाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ।

प्रकाशित मिति: ०८:२२ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्