आज पृथ्वीजयन्ती एवं एकता दिवस मनाइँदै
काठमाडौं, पुस २७ : प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।यस वर्ष...
काठमाडौं, पुस २७ : प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
यस वर्ष पृथ्वीनारायणको ३००औं जन्मजयन्ती मनाइँदै छ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमाथि विजय प्राप्त गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदै छ।











