कुण्डला भूपू विद्यार्थी समाजको पाँचौँ एक्सेलेन्सी अवार्ड तामाङ र खतिवडालाई

काठमाडौं, पुस २६ : कुण्डला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७८ को उत्कृष्ट छात्रा र छात्रलाई पाँचौँ ‘कुण्डला एल्मुनाइ एक्सेलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
विद्यालयको ५९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार कुण्डला भूपू विद्यार्थी समाजले उत्कृष्ट विद्यार्थीलाई उन्नति र प्रगतिको शुभकामनासहित उक्त अवार्ड प्रदान गरेको हो । कुण्डला भूपू विद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषबाट आर्जित रकमबाट प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई ‘एक्सेलेन्सी अवार्ड’ प्रदान गर्दै आएको छ ।
कार्यक्रममा समाजका सदस्य तथा पत्रकार टीकाराम तामाङले ऋचा खतिवडा र रञ्जन तामाङलाई अवार्डसहित शैक्षिक सामग्री प्रदान गरे । सोही अवसरमा समाजका सचिव कञ्चन थापाले विद्यालय स्थापना कालमा महत्वपूर्ण सहयोग गर्नुहुने स्व. चन्द्रबहादुर थापा र टुलकुमारी थापाको स्मृतिमा स्थापना गरेको पुरस्कार पनि ‘अल्मुनाइ’मार्फत प्रदान गरिएको छ । यस वर्ष सुजन तामाङ र रञ्जु तामाङले सो पुरस्कार प्राप्त गरेका छन् ।
वार्षिकोत्सवका अवसरमा विद्यालयस्तरको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको थियो । त्यस अवसरमा नेपाली कांग्रेसका नेता डा रामशरण महत, कांग्रेस जिल्ला सभापति रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा र लिखु गाउँपालीकाका अध्यक्ष ध्रुव थापाले विद्यालयको वार्षिकोत्सवमा शुभकामना व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापा र विद्यालयका प्रधानाध्यापक शम्भु यादवले भूपू विद्यार्थीलाई धन्यवाद दिँदै निरन्तर विद्यालयसँग सहकार्य गर्न आग्रह गरे ।












