नारायणहिटीभित्र बतासले बनाएको संरचना अवैध, कार्यकारी निर्देशक दाहालको समेत मिलेमतो
बतास समूहले दरबार संग्रहालय भित्र बनाएको संरचनाबारे छानविन गर्न गठित समितिले पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा बतासले अवैध ढंगले संग्रहालय भित्र संरचना बनाएको ठहर गरेको छ।
काठमाडौं, पुस २६ : नारायणहिटी दरबार संग्रहालय क्षेत्रभित्र बतास समूहले बनाएको संरचना अवैध ठहर भएको छ ।
बतास समूहले दरबार संग्रहालय भित्र बनाएको संरचनाबारे छानविन गर्न गठित समितिले पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा बतासले अवैध ढंगले संग्रहालय भित्र संरचना बनाएको ठहर गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानविन समितिले संरचना निर्माण कार्य रोकी सम्बन्धित निकायबाट कारवाही गर्न सुझाव दिएको छ।
प्रतिवेदनमा बतास समूहलाई ६. ३३ रोपनी जग्गा भाडामा दिने निर्णंय भएपनि सो समूहले १४ रोपनी क्षेत्रफलमा व्यापारिक संरचना बनाउन लागेको प्रष्ट पारेको छ। यस कार्यका लागि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दहालको मिलेमतो रहेको समेत समितिको आशंका छ ।
टेण्डर प्रक्रियामा बतास समूहकै तीनवटा कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर नियोजित ढंगले जग्गा उपलब्ध गराउने खेलमा समितिकै निर्देशकको संलग्नता हुनसक्ने भएको भन्दै उनीमाथि छानविन हुनुपर्ने समितिको सुझाव छ।
प्रतिवेदनमा संग्राहलयभित्र क्यान्टिनरक्याफ्टेरिया सञ्चालनका लागि अनुमति दिएको भएपनि क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको नपाइएको उल्लेख गरिएको छ । सम्झौता विपरीत काम हुँदा पनि विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवारी पूरा नभएको पनि प्रतिवेदनमा ठहर गरिएको छ ।
पत्रकार सम्मेलनमा नारायणहिटीमा हाललाई संरचना निर्माणकार्य स्थगित भएको जानकारी दिइएको छ। यसैगरी सम्झौतामा उल्लेख भन्दा बढी क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन भनिएको र केही निर्माणाधीन टहरा र पर्खाल राखिएका जालीहरू भत्काइएको पाइएको बताइएको छ ।











