Kathmandu Press

भोलिबाट माघ १५ सम्म विद्यालय बन्द रहने, सेमेस्टर र वार्षिक परीक्षा भने नराेकिने

आइतबार बसेको सिसिएमसीको बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
भोलिबाट माघ १५ सम्म विद्यालय बन्द रहने, सेमेस्टर र वार्षिक परीक्षा भने नराेकिने

काठमाडौं, पुस २६ : शिक्षा मन्त्रालयले भोलि (सोमबार) बाट माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको  हो। 

आइतबार बसेको सिसिएमसीको बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिनका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुनेगरी यही पुस २७ देखि आगामी माघ १५ सम्म बिदा दिने निर्णय भएको जानकारी दिएका छन्। 

बिदाको उक्त अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेको पनि जनाइएको छ। विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन मन्त्रालयले अभिभावकहरूसमक्ष अनुरोध पनि गरेको छ। 

बिदाको अवधिमा पढाइलाइ निरन्तरता दिन विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका-२०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रबन्ध गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ। 

 

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्