लगानीकर्तालाई ब्रोकर कम्पनीबाटै धितो कर्जा, आइतबारबाट प्रक्रिया सुरु
काठमाडौं, माघ १९ : सेयर ब्रोकरहरुले नै सेयर धितो कर्जा (मार्जिन ल्याण्डिङ) को प्रक्रिया आइतबारदेखि प्रक्रिया सुरु गर्ने भएका छन् । नेपाल धितोपत्र....

काठमाडौं, माघ १९ : सेयर ब्रोकरहरुले नै सेयर धितो कर्जा (मार्जिन ल्याण्डिङ) को प्रक्रिया आइतबारदेखि प्रक्रिया सुरु गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकरलाई निर्देशन दिएको थियो ।
नेप्सेले ब्रोकरहरुलाई आइतबार परिपत्र जारी गरेपछि ब्रोकरहरुले सेयर धितो कर्जा सुरु गर्ने भएका हुन् । यो प्रक्रियाबाट १५ लाख लगानीकर्ताहरु लाभाविन्त हुने बताइएको छ ।
लगानीकर्ताहरुले ५९ वटा ब्रोकर कम्पनी मध्ये कुनै एकबाट सेयर कर्जा लिन पाउने छन् ।
धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङ सम्बन्धी कार्यविधि संसोधन गर्दै ब्रोकर र ग्राहकबीचको आपसी सहमतिका आधारमा ब्याजदर निर्धारण हुने व्यवस्था गरेको छ ।
मार्जिन ल्याण्डिङ दिने भएपछि सेयर ब्रोकरहरु राष्ट्र बैंकमा दर्ता हुनुपर्ने राष्ट्र बैंकले भनेपछि धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङको कार्यविधि रोकेर राखेको थियो । जसले उपभोक्ताहरुले सेयर धितो राखेर ब्रोकरबाट कर्जा पाउन सकेका थिएनन् ।
मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिनु पर्नेछ । धितोपत्र बोर्डले शुक्रबार जारी गरेको निर्देशनमा ब्याजदर बजारलाई छाडेपनि बोर्डले त्यसको प्रत्यक्ष अनुगमन गर्ने उल्लेख छ ।
बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारि गरेको थियो । निर्देशिका अनुसार नेप्सेले गत बैशाखमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७५ को तयार गरेको थियो ।
तर, राष्ट्र बैंक ऐन अनुसार निक्षेप लिने र ऋण दिने काम गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । त्यसैले, राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिने ब्रोकरहरु राष्ट्र बैंकमा दर्ता हुनुपर्ने भनेको थियो ।
यो व्यवस्था भएसँगै सेयर ब्रोकरको दायरा विस्तार हुने र लगानीकर्तालाई एकै ठाउँबाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकासर विस्तार हुने वोर्डको विश्वास छ ।











-1754206481.jpg)