राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोमबारबाट आचारसंहिता लागु हुने
काठमाडाैं, पुस २५ : निर्वाचन आयोगले आज (आइतबार) आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।...
काठमाडाैं, पुस २५ : निर्वाचन आयोगले आज (आइतबार) आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले उम्मेदवारहरूलाई चुनाव चिह्न पनि प्रदान गरेको छ।
आयोगले कांग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ भने एमालेका उम्मेदवारलाई सूर्य। त्यसैगरी राप्रपाका उम्मेदवारले हलो, नेकपा (एकीकृत समाजवादी पार्टी) का उम्मेदवारले कलम, जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले ढल्केको छाता चुनाव चिह्न पाएक छन्।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रियसभाको १२ गते हुने निर्वाचनले रिक्त १९ सिटका लागि सदस्य चयन गर्नेछ। आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा निर्वाचन गर्न आइतबारदेखि निर्वाचन आचारसंहिता जारी गरेको छ।
उक्त आचारसंहिता सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दललगायतमा लागु हुने जनाइएको छ।











