Kathmandu Press

ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

ललितपुर, पुस २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन्। उनले ललितपुर...
ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

ललितपुर, पुस २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन्। उनले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गरेकी हुन्।

ललितपुरको उत्तर–पश्चिममा अवस्थित खोकना राजकुलो सिँचाइ प्रणाली करिब ३ सय वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन्। सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर गरिँदै आएको छ। स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि १ करोड ३२ लाख र नहर निर्माणका लागि रु. ४० लाख विनियोजन गरेको थियो।

कुलोको मुहान शिलान्यास गर्दै मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वरा जमिनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन्। सामूहिक खेती गरेर उत्पादकत्व वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘हामी सबै मिलेर सामूहिक खेती गरौँ, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु।’

तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले ऐतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन्। उनले भनिन्, ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिने गरी निर्माण गर्नुपर्छ, त्यसको आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिया हुनुहोस्।’

संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै उनले भनन्, ‘हामीले भनेको समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने हो, त्यसका लागि निरन्तर सिर्जनशील काम गर्नुपर्छ।’ कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र संवर्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘राज्यले उपलब्ध गराएको सहयोगको अधिकतम फाइदा लिएर उत्पादकत्व वृद्धि गर्नुहोला।’ 

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले ऐतिहासिक कुलो स्तरोन्नतिबाट खोकनावासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटको सही तवरले सदुपयोग हुनेछ भने। कार्यक्रममा ललितपुर महानगर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतिका लागि विनियोजित बजेटको सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे। 

उनले आगामी दिनमा खेतीयोग्य जमिन खण्डीकरण हुन नदिनेतर्फ आफूले ध्यान दिने बताए। शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैंसीपाटी र खोकनाको करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ। यस प्रणालीबाट करिब दुई हजार परिवारका एवं सात हजार व्यक्ति लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ। 

अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए। उनीहरूले ऐतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्