काठमाडाैंमै ‘माता’कोमा उपचार गराउन लगिएकी १४ वर्षीया रोशनी श्रेष्ठको मृत्यु
काठमाडौं, पुस २५ : बिरामी परेपछि धामीझाँक्रीकोमा झारफुक गर्न लगिएकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरमा बस्दै...
काठमाडौं, पुस २५ : बिरामी परेपछि धामीझाँक्रीकोमा झारफुक गर्न लगिएकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरमा बस्दै आएकी १४ वर्षीया राशनी श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो।
२१ दिनअघि रोशनी बिरामी परेपछि उनका परिवारले उपचारका लागि नागार्जुन नगरपालिका–१ स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा लगेका थिए। त्यस क्षेत्रमा ठकूरीलाई ‘माता’ उपनामले चिन्ने गरिन्छ । झारफुक केन्द्रमा रोशनीको मृत्यु भएपछि प्रहरीले ठकूरीलाई पक्राउ गरेको छ।
रोशनीका परिवारले अन्य व्यक्तिहरुबाट थाहा पाएपछि छोरीलाई ठकुरीको झारफुक केन्द्रमा लगेका थिए। माता नामले परिचित ठकुरीले भने रोशनीलाई त्यहीँ छाडेर जानुपर्ने भनेपछि रोशनीलाई त्यहीँ छाडेर उनको परिवार घर फर्केका थिए।
शनिबार मात्रै रोशनी बेहोस रहेको कुरा उनका परिवारले खबर पाएका थिए। त्यसपछि बालिकालाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएपनि चिकित्सकले उनको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।
छोरीको मृत्यु भएपछि रोशनीकी आमाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरीले माता भनिने उमा ठकुरीलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न कर्तव्य ज्यान मुद्धामा म्याद थप गर्न काठमाडौं सरकारी वकिल कार्यालय लगिएको छ।
बालिकाको मृत्यु के-कसरी भएको हो भन्ने पोष्टमार्टमबाट थाहा पाइने प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।











