कैलालीमा एक महिनाअघि ७७ वर्षीया वृद्धा बलात्कृत, आर्थिक लेनदेन नमिल्दा घटना बाहिरियो
घटनालाई गुपचुप राख्नका लागि स्थानीय जनप्रतिनिधिदेखि शिक्षक सम्मले पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारेको पाइएको छ। पीडित पक्षलाई आर्थिक प्रलोभनमा पार्ने जनप्रतिनिधि र शिक्षकसहित मुख्य अभियुक्तलाई पक्राउ गरी प्रहरीले कारवाही प्रकृया अगाडि बढाएको छ।
काठमाडौं, पुस २५ : कैलालीमा ७७ वर्षीया वृद्धा बलात्कृत भएको घटना एक महिनापछि सार्वजनिक भएको छ । गत मंसिर १५ गते घोडाघोडी नगरपालिका–४ की वृद्धा घरमै सुतिरहेको समयमा बलात्कृत भएकी थिइन्।
एक महिनाभन्दा बढी समय बितेपछि मात्र वृद्धामाथि बलात्कार भएकाे खुलासा भएकाे हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीका अनुसार बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरी कारवाही प्रकृया अघि बढिसकेको छ।
मंसिर १५ गते वृद्धा बलात्कृत भएपनि त्यसको एक महिनापछि पुस १२ गते प्रहरीमा उजुरी परेकाे थियो । वृद्धाकी छोराले नै प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो। उनको उजुरीका आधारमा प्रहरीले ३० वर्षीय प्रकाश सुवेदीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे डिएसी जोशीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
घटनालाई दबाउन जनप्रतिनिधिदेखि शिक्षकसम्मको भूमिका
घटना भएको एक महिनापछि मात्र प्रहरीमा उजुरी दिएपछि यसका कारणबारे प्रहरीले सोधपुछ र अनुसन्धान गरेको थियो। बलात्कार जस्तो जघन्य अपराधलाई लुकाउन स्थानीय जनप्रतिनिधिदेखि शिक्षकसम्मले सक्रिय भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार घटनालाई गुपचुप राख्नका लागि वडासदस्य, वडाका पूर्वसचिव देखि शिक्षकसम्मले भूमिका खलेको पाइएको छ । पीडितलाई पीडकबाट तीन लाख रकम उपलब्ध गराउने सहमतिमा घटनालाई गोप्य राख्न खोजिएपनि लेनदेन नमिलेपछि पीडित पक्ष प्रहरीमा आएको डिएसपी जोशीले जानकारी दिएका छन्।
उनका अनुसार पीडक पक्षले तीन लाख दिने सहमती गरेपनि पीडित पक्षलाई दुई लाख मात्र दिएका थिए। पीडक पक्षले दिएको दुई लाख बलात्कृत भएकी वृद्धाकी छोराले लिएको र पूरा रकम नपाएपछि नै प्रहरीमा उजुरी दिएको डिएसपी जोशीले बताए।
पीडित पक्षको उजुरीका आधारमा घटनालाई गुपचुप राख्ने गरी पीडित पक्षलाई आर्थिक प्रलोभनमा पार्न मतियारको भूमिका खेल्नेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता जोशीले जानकारी दिए।
डिएसपी जोशीले अनुसार घटना दबाउन मतियारको भूमिका खेल्नेलाई पनि कारवाही हुने बताएका छन्। त्यस्तै सोही प्रकरणमा संलग्न दुई जना फरार रहेका उनीहरुको खोजी भइरहेको जानकारी दिएका छन्।











