‘बा’ भन्नेहरूलाई मात्रै ओलीले संरक्षण दिने गरेका छन् : नेपाल
काठमाडाैं, पुस २४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको...
काठमाडाैं, पुस २४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीका लागि अन्य पार्टी र तिनका नेता तथा विदेशी प्यारा लाग्ने गरेको तर आफूलाई ‘बा’ नभन्ने आफ्नै पाटीका कार्यकर्तालाई अनादर गरेको आरोप लगाए। पार्टीभित्र ‘केपी बा’ भन्नेहरूलाई मात्रै ओलीले संरक्षण दिने गरेको आरोप पनि उनको थियो।
माओवादी केन्द्रका अभ्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टाउकोमा टेकेर आफूलाई अग्लो देखाउने सोचका साथ ओलीले विगतमा पार्टी एकता गराएको टिप्पणी गरेका छन्।
‘हामी पहिले खुसी भएका थियौं, दुईटा पार्टीहरु मिल्ने भए, एमाले र माओवादी भनेर। देशका मुख्य वाम घटकका नेताहरु एक ठाउँमा आउने भए भनेर। किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले नै भूमिका खेलेका थियौं। यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ।’
अध्यक्ष नेपालले पीडा धेरै भइसकेपछि मुखबाट बाहिर निस्कने उल्लेख गर्दै ओली अहिले त्यस्तै अवस्थामा रहेको संकेत गरे। ‘तपाईंहरुमध्ये कोही डाक्टर भए उपचार गरिदिनुभए हुन्छ । विचराको त्यो हालत । बालुबाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नुपरेछ,’ उनले भने।
ओलीमा व्यक्तिवाद सवार भएको, मैमत्त प्रवृत्ति सवार भएको मभन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आएको भन्दै नेपालले आलोचना गरे। ओलीमा दम्भी नेताको विशेषता देखिएको पनि उनले बताए।











