Kathmandu Press

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

दमौली, पुस २४ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। तनहुँको व्यास नगरपालिका–१...
विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

दमौली, पुस २४ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। 

तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन कार्यक्रममा उहाँले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताए। 

मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना गर्नुपर्छ भने। उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको बताए। ‘सबैलाई विकास चाहिएको छ, त्यसतर्फ सबै राजनीतिक दलबीच सहकार्य गरौं,’ उनले भने, ‘म जे बोल्छु त्यो पूरा गरेरै छाड्छु।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याएरै प्रतिवद्धता व्यक्त गरे। ‘रानाभाट जाति राज्यबाट सूचीकृत हुन नसकेको कुरा सुन्दा दुःख लागेको छ, यसमा रानाभाट समाजको पनि कमजोरी रह्यो,’ उनले भने, ‘यसमा मेरो ध्यानाकर्षण भएको छ।’ उनले स्व. निर्मल रानाभाटलाई सहिद घोषणा गर्ने विषयलाई पनि गम्भीरतापूर्वक मनन गरेको बताए। 

कार्यक्रममा रानाभाट तथा भाट समाजका पूर्वकेन्द्रीय अध्यक्ष खड्गबहादुर रानाभाटले १५ लाख जनसङ्ख्या रहेको रानाभाट सूचीकृत हुन नसकेको बताए। रानाभाट तथा भाट समाजका गण्डकी प्रदेश उपाध्यक्ष सुरज रानाभाट, ऋषिङ गाउँपालिका–४ का वडाध्यक्ष भोजराज रानाभाट, निर्मल रानाभाट सिर्जनशील समाजका अध्यक्ष बलबहादुर रानाभाटले स्व निर्मल रानाभाटलाई सहिद घोषणा गर्न सरकारसँग माग गरे। 

मन्त्री श्रेष्ठले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत विनियोजन गरेको रु. १० लाख बजेटबाट समाजले पहिलो तल्ला थप गरेको हो। समाजले स्व. निर्मल रानाभाटको स्मृतिमा बहुउद्देश्यीय भवन निर्माण गरेको छ।

भवन निर्माणका लागि व्यास नगरपालिकाले रु. पाँच लाख सहयोग गरेको थियो भने समाजका सदस्यबाट रु ३५ लाख संकलन गरिएको भवन निर्माण समितिका संयोजक नारायण रानाभाटले जानकारी दिए। 

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्