सकियाे देउवा-ओली वार्ता, संसदको गतिरोध हटाउनेबारे छलफल
भेटका क्रममा केही समययता संसदमा देखिएको समस्या हल गर्ने विषयमा छलफल भएको जनाइएको छ। दुई नेताबीच करिब एक घन्टा कुराकानी भएको हाे।
काठमाडौं, पुस २४ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा आज (शनिबार) बिहान अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित उनकै निवासमै पुगेका थिए।
भेटका क्रममा केही समययता संसदमा देखिएको समस्या हल गर्ने विषयमा छलफल भएको जनाइएको छ। दुई नेताबीच करिब एक घन्टा कुराकानी भएको हाे।
भेटपछि बाहिरिने क्रममा देउवाले केही प्रतिक्रिया दिएनन्। सञ्चारकर्मीसँग ओलीले ‘वार्ता राम्रो भयो’ भन्नेबाहेक केही कुरा राखेनन्। दुवै पक्षका सचिवालयबाट पनि कुनै आधिकारिक जानकारी आइसकेको छैन।
प्रमुख प्रतिपक्षी दल एमालेले केही समयदेखि संसदमा बैठकमा गतिरोध सिर्जना गर्दै आएको छ। एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने आडानमा एमाले रहँदै आएको छ।
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी एमालेबाट विभाजित भई बनेको हो। सो पार्टी गठन हुनुअघि नै एमालेले १४ जनालाई सांसद पदबाट मुक्त गर्नुपर्ने भन्दै संसद सचिवालयमा पत्र पठाएको थियो।
तर त्यो पत्रबमोजिम नेपाललगायत नेतालाई कारबाही नगरेर सभामुख अग्नि सापकोटाले नयाँ दल खोल्न सजिलो बनाइदिएको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ।
एमालेले नेपाल लगायत १४ जनालाई सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने, सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ।
संसद गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर एमाले सो बैठकमा पनि एमाले सहभागी भएन। समाभुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले गएन।
सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार बैठकले संसद सहज रूपमा सञ्चालन गर्न पहल थाल्नुपर्ने र त्यसका लागि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद गर्नुपर्ने निष्कर्ष निकालेको थियो। त्यसैको भोलिपल्ट प्रधानमन्त्री देउवाले आज ओलीसँग भेट गरेका हुन्।
यसअघि समन्वय समितिका संयोजक एव. कांग्रेस नेता रामचन्द्र पौडेलले पनि बालकोटमै पुगेर ओलीलाई भेटाका थिब्ए।











