कोरोनाको तेस्रो लहरको संकेत, एकैदिन ९६८ जनामा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ नमूनाको परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना संक्रमण देखिएको हो।
काठमाडौं, पुस २३ : मुलुकभर पछिल्लाे चाैबिस घण्टामा ९६८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ नमूनाको परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ८ हजार २७२ नमूनाको पीसीआर परीक्षण गर्दा ५७२ र ६ हजार ६९९ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३९६ जनामा कोरोना संक्रमण देखिएको हो।
सोही अवधिमा २६२ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ३१ हजार ५२ पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार ८४१ पुगेको छ। मृत्यु हुनेको संख्या ११ हजार ६०२ रहेको छ।
मुलुकभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ। जसमध्य ५ हजार २८६ जना होम आइशोलेसनमा छन् । त्यस्तै ४५५ जना संस्थागत आइसोलेसनमा छन् भने ११३ जना क्वारेन्टिनमा रहेका छन्। अस्पतालमा उपचाररत रहेकामध्य ८१ जना आइसीयूमा छन् भने १५ जना भेन्टिलेटरमा छन्।
आज देशभर २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म २ करोड ५९ लाख ५ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्य १ करोड १० लाख २ हजार ९७६ जनाले दुबै मात्रा लगाइसकेका छन् भने १ करोड ४९ लाख २ हजार ६८७ जनाले पहिलो मात्राको खोप लगाएका छन्।
शुक्रबार नै नेपालमा २४ जनामा ओमिक्रोन संक्रमण समेत देखिएको छ। ओमिक्रोन संक्रमणसँगै कोरोना संक्रमणदर पनि बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सतर्क रहन अनुरोध गरिसकेको छ। त्यस्तै कोरोना संक्रमणदर बढेपछि सिसिएमसीको आकस्मिक बैठक समेत बसेको छ।











